Blogger Widgets Blogspot Tutorial

Saturday, February 14, 2015

म कल्पना गर्छु…

कुनै समय थियो । लाग्थ्यो, घरमा एउटा ब्ल्याक एण्ड व्हाइट भएपनि टिभी होस् । पछि मोबाइल आयो । लाग्यो, मेरो पनि खल्तीमा एउटा मोबाइल होस् । कम्प्युटर आयो । लाग्यो, घरमा एउटा कम्प्युटर होस् । चिल्ला गाडी सडकमा गुड्न थाले । लाग्यो, मसँग पनि एउटा गाडी होस् ।
लाग्यो, त्यत्ति मात्रै होस् । यति भन्दा अरु केहि हुने छैनन् मेरा सपना ।
कुनै दिन । आकाशमा प्लेन उडेको देखें । लाग्यो, मपनि चरा जस्तै उड्न पाउँ । कतै टाढा जान पाउँ । बादल पारि कतै हराउन पाउँ । बिलाउन पाउँ ।
अर्को दिन । सुनें, अमेरिका संसारको शक्तिशाली राष्ट्र हो रे ! लाग्यो, मर्नु अघि एक पटक अमेरिका देख्न पाउँ ।
केहि साथीहरु उडे अमेरिका तिर । त्यहीं आकाशमा उड्ने प्लेन चढेर । चरा जस्तै । लाग्यो, सपनाहरु पनि पुरा हुन सक्दा रैछन् । लाग्न थाल्यो, म पनि एक पटक अमेरिका जान पाउँ । देख्न पाउँ । छुन पाउँ ।
र, त्यो एक दिन । म पनि उडे । खल्तीमा मोबाइल, ब्यागमा ल्यापटप बोकेर । टिभी हेर्दै, प्लेनको सीटमा बसेर ।
लाग्यो, सबै सपना पुरा भए । म अब एउटा पूर्ण मान्छे भएँ ।
चरा जस्तै उड्दै, यो पृथ्वीमा कहलिएका शक्तिशाली राष्ट्रहरुलाई एक-एक पटक छोएँ । स्पर्श गरें ।
छुँदा सम्म लाग्यो, मैले ठुलो काम गरें ।
***
अहिले । म कल्पना गर्छु ।
त्यो ब्ल्याक एण्ड व्हाइट टिभी मेरो घरमा नभएको भए हुने थियो ।
मैले अमेरिकाको नाम सुन्ने थिइन । अमेरिका शक्तिशाली हो रे, भन्ने खबर पाउने थिईन । विदेशको कल्पना गर्ने थिइन ।
त्यो मोबाइल मेरो खल्तीमा नभएको भए हुने थियो ।
चारैतिर बाट सबैजना बाट घेरिएको हुने थिइन । मनोमानी बजिरहने रिंगटोन आतंकबाट पिडित हुने थिइन । सबैको सजिलै पहुँच हुने सस्तो साधन हुने थिइन । परतन्त्र भएर झेलिने थिइन । अरुको तालमा नाच्ने थिइन । स्वतन्त्र भएर एक्लै हिड्ने थिएँ ।
त्यो कम्प्युटर मेरो घरमा नभएको भए हुने थियो ।
म दिन रात त्यसमै घोतलिने थिइन । फेसबुक, ट्विटर र युट्युबमा अल्झने थिइन । भर्चुवल दुनियाँको दास हुने थिइन ।

अहिले । एक्लै बसेर । म कल्पना गर्छु ।
मेरो खल्ती माथि मोबाइलको अतिक्रमण बन्द भएको । मेरो प्यारो खल्ती स्वतन्त्र भएको । मेरो कोठा विश्व भरिका अनावश्यक खबरहरु बोकेर आउने टिभीबाट मुक्त भएको ।   आफुलाई शक्तिशाली ठान्ने अमेरिका र अन्य देशहरु सबै बराबरी भएको ।

No comments:

Post a Comment